चैत, ७ काठमाडौं । नेपाली कांग्रेसबाट सांसद बनेका प्राध्यापक डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा पार्टी भित्र चुलिएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय अभ्यास र अनुभवको आधारमा डा। यादवलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल भएको काँग्रेसका एक नेताले जानकारी दिए ।
डा. यादव संविधान सभा सदस्यसमेत रहेका व्यक्ती हुन् र नेपाली कांग्रेसका केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका उनी चिकित्साशास्त्रमा स्नातकोत्तर र मेडिकल साइन्समा एम।डी। गरेका रेडियोलोजीका प्राध्यापक समेत हुन् ।
पटक पटक विश्वास जित्दै आएका डा। यादव दोश्रो पटक सांसद बनेर संसदीय परिपक्वता प्रमाणित गरिसकेका छन् ।
तराई–मधेशमा विश्वास जित्न डा. यादव नेतृत्वको अपेक्षा
राजनीतिक विश्लेषकका अनुसार, वर्तमान जटिल राजनीतिक परिस्थितिमा काँग्रेसलाई तराई–मधेशमा जनविश्वास फिर्ता ल्याउन र राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व कायम राख्न डा. यादव जस्तो सुझबुझपूर्ण नेतृत्व आवश्यक रहेको देखिन्छ ।
कांग्रेसको इतिहासमा स्व. बी.पी. कोईराला र गिरिजा प्रसाद कोईरालाले मधेशप्रति विशेष ध्यान दिएका थिए भने हालै सम्पन्न आम निर्वाचनमा गगन थापाले पनि मधेशको जनाधारको महत्वलाई जोड दिएका थिए ।
विश्लेषकहरूका अनुसार डा। यादव संसदीय दलको नेता भए, काँग्रेसले मधेशमा गुमाएको जनाधारको पुनःसुदृढीकरण गर्न सहज हुनेछ । यसैक्रममा, पार्टी भित्रको युवाप्रधान नेता र मधेशीय जनसंपर्क समितिहरूले पनि यस कदमलाई सकारात्मक रुपमा स्वागत गर्ने अपेक्षा गरिएको छ ।
पार्टी नेताहरूका अनुसार, डा. यादवले अनुभव, मधेशीय सम्वेदनशीलता र वैज्ञानिक सोचलाई मिश्रित गरी संसदमा कांग्रेसको नेतृत्वलाई मजबुत बनाउन सक्नेछन् ।
यस कदमले पार्टीको रणनीति, संसदीय कामकाज र नयाँ सरकारसँगको समन्वयमा पनि सहजीकरण हुने आशा गरिएको छ ।
अगामी संसद सत्रमा डा. यादवको संसदीय नेतृत्वले पार्टीलाई पुनः सक्रिय र सशक्त बनाउने दिशामा केन्द्रित रहने एक कांग्रेश नेताले बताए ।







