वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीमा जनता समाजवादी पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव को घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। घरदैलोका क्रममा उम्मेदवार यादवले निमुखा, दलित तथा पिछडिएका समुदायका हक–अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको पार्टीका रूपमा जसपालाई मत दिन आग्रह गरे।
कार्यक्रममा सहभागी स्थानीयले मधेसी समुदायको अधिकार, पहिचान र समानताका लागि वर्षौंदेखि संघर्ष गर्दै आएको पार्टी जसपा नै भएको भन्दै समर्थन जनाएका थिए। उनीहरूले “मधेसी अधिकारका लागि लड्ने एकमात्र पार्टी जसपा हो, यसको विकल्प छैन” भन्ने नारा समेत लगाएका थिए।
उम्मेदवार यादवले निर्वाचित भएमा कृषकका लागि कृषि–मैत्री नीति अवलम्बन गर्ने, समयमै मल–बीउको व्यवस्था गर्ने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “अब अधिकारका कुरा नारामा सीमित नराखी व्यवहारमा लागू गर्ने समय आएको छ,” उनले भने।







