१० माघ, वीरगंज । पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक इजलास कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी ‘प्रजिअ’ गणेश अर्यालको पहल र नेतृत्वमा बुधबारदेखि कार्यालय भवनभित्रै इजलास कक्ष स्थापना गरिएको हो।
अब देखि अभद्र व्यवहार तथा जुवा ऐन अन्तर्गतका मुद्दाहरूको बहस, पैरवी र न्यायिक निर्णय यसै कक्षबाट हुनेछ। जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखा नजिकैको कोठामा स्थापना गरिएको उक्त इजलास कक्षको विधिवत् उद्घाटन बुधबार प्रजिअ अर्यालले गरेका थिए।
प्रजिअ गणेश अर्यालले इजलाश कक्षको महत्वबारे विस्तृत जानकारी दिँदै भने, “जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको दुई मुख्य भूमिका हुन्छन्, प्रशासकीय र न्यायिक। प्रशासकीय भूमिका अन्तर्गत प्रशासनिक काम कारबाही सुचारु राख्नुपर्छ भने न्यायिक भूमिकामा निष्पक्षताका साथ न्याय सम्पादन गर्नुपर्छ।
तर, अहिलेसम्म इजलाश कक्ष नहुँदा न्याय सम्पादनमा निकै समस्या हुने गरेको थियो। न्यायिक प्रक्रियामा गोपनीयता, शान्त वातावरण र प्रक्रियागत सहजता आवश्यक पर्छ। तर, इजलास कक्षको अभावमा यी कुरा व्यवस्थापन गर्न गाह्रो हुने गरेको थियो।
अब इजलास कक्ष सञ्चालनमा आएपछि न्याय सम्पादनमा सहजता मात्रै नभएर निष्पक्षताको प्रत्याभूति पनि हुनेछ। उनले थपे, “हामीकहाँ कार्यालयभित्रै इजलास कक्ष नहुँदा प्रहरीमार्फत ल्याइने थुनुवाहरूलाई खुला ठाउँमा राख्नुपर्थ्यो। यसले गोपनीयताको मर्ममा धक्का लाग्ने मात्र होइन, थुनुवाको सम्मान जनक व्यवहारको सिद्धान्तमा पनि बाधा पुग्थ्यो। तर, अब इजलास कक्ष सञ्चालनमा आएसँगै थुनुवाहरूको गोपनीयता कायम गर्न र निष्पक्षता सुनिश्चित गर्न मद्दत पुग्नेछ।”
प्रजिअ अर्यालले यस कदमले न्यायिक प्रक्रियामा पारदर्शिता र प्रभावकारितामा पनि सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “इजलास कक्षको अभावले हाम्रो काम कारबाहीमा बाधा पु¥याइरहेको थियो। अब यो समस्या हल भएको छ। हामी नागरिकको न्याय प्रतिको विश्वास कायम गर्न प्रतिबद्ध छौं।”
इजलास कक्षको स्थापनासँगै अब पर्सा जिल्लामा न्याय सम्पादन प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।







