वीरगंज,८ जेठ। छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा रहेको मुख्य सडक क्षेत्रमा अनाधिकृत रूपमा सवारी साधन तथा निर्माण सामग्री राख्ने कार्य नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै श्री दिव्य बचत तथा ऋण सहकारी संस्था देखि दक्षिण भिस्वा सिक्टा बोर्डरसम्मको सार्वजनिक सडकमा कुनै पनि प्रकारका गाडी, घोडा, गिटी, बालुवा लगायतका सामग्री राखेर अवरोध नगर्न आग्रह गरेको हो।
सूचनामा सार्वजनिक सडकलाई अवरुद्ध हुने गरी पार्किङ वा सामग्री राख्दा आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने उल्लेख गरिएको छ। त्यसैले सम्बन्धित सबैलाई सडक क्षेत्र खाली राखी व्यवस्थित रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाले अटेरी गरी नियम उल्लंघन गर्ने व्यक्ति वा पक्षमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ। स्थानीय प्रशासनले सार्वजनिक सडकको संरक्षण र सहज यातायात सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ।







