वीरगंज,१९ वैशाख। नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समिति वीरगञ्ज २०८३ को अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन्। शनिबार वीरगञ्जस्थित वीरगञ्ज स्कुल अफ ल क्याम्पसको सभा हलमा सम्पन्न निर्वाचनमा उनले १२७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूमाथि स्पष्ट अग्रता हासिल गरेका हुन्।
अध्यक्ष पदका अर्का उम्मेदवार अफताब आलमले ७० मत प्राप्त गरे भने चन्दु प्रसाद पटेलले ३३ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे। निर्वाचन परिणाम सार्वजनिक भएसँगै सन्नी पटेल नेतृत्वको प्यानल विजयी भएको पुष्टि भएको छ।
निर्वाचनबाट उपाध्यक्षमा बिरबल कुमार यादव, सचिवमा नितेश गुप्ता, सह–सचिवमा बबिता कुमारी धानुक तथा कोषाध्यक्षमा धर्मेन्द्र कुमार साह निर्वाचित भएका छन्। सदस्यहरूमा सुमित कुमार साह, बिकेश महतो धानुक, लक्ष्मी साह, मणिभूषण कुशवाहा, राजेश प्रसाद यादव र अमिरा पासवान चयन भएका छन्। पार्षदमा उपेन्द्र प्रसाद साह, अब्दुल हकिम राउत गदी र राजा बाबु पटेल निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष सन्नी पटेलले आफ्नो कार्यकाल पारदर्शिता, व्यावसायिक अनुशासन र सेवा सुधारमा केन्द्रित रहने बताएका छन्। उनले लेखापढी व्यवसायलाई थप व्यवस्थित, मर्यादित तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउँदै सदस्यहरूको हकहित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरे।
उनले लेखापढी व्यवसायीहरू न्यायिक प्रक्रियाको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै सेवाग्राहीलाई सहज, छरितो र विश्वसनीय सेवा उपलब्ध गराउनु संस्थाको प्रमुख दायित्व रहेको बताए। आफ्नो नेतृत्वमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम तथा आपसी समन्वयलाई विशेष प्राथमिकता दिइने उनको भनाइ थियो।
अध्यक्ष पटेलले पेशाभित्र देखिएका विकृति, अव्यवस्था र अनियमितता अन्त्य गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, जिल्ला अदालत तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै लेखापढी व्यवसायीहरूको गरिमा र भूमिका अझ सुदृढ बनाइने बताए।







