सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्ला पछिल्ला दिनहरूमा फेरि एकपटक तस्करीको गम्भीर आरोप र घटनाले राष्ट्रिय बहसको केन्द्रमा आएको छ । भारततर्फ अवैध रूपमा पठाइएको ठूलो परिमाणको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि यहाँको सीमा व्यवस्थापन, सुरक्षा संयन्त्र र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
भारतको सीतामढी जिल्लाअन्तर्गत पर्ने लालबन्दी नाकामा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शुक्रबार दुई वटा महिन्द्रा बोलेरो पिकअपबाट करिब ५ टन बराबरको चिनियाँ लसुन र काँक्रोको बियाँ (बिउ) बरामद गरेको जनाएको छ । एसएसबीका अनुसार बरामद गरिएको लसुन ६७ पोका अर्थात् करिब १ हजार २०६ किलोग्राम रहेको छ भने काँक्रोको बियाँ ३ हजार ७२४ किलोग्राम फेला परेको छ ।
यो परिमाण सामान्य ‘सानो तस्करी’ नभई संगठित र योजनाबद्ध नेटवर्कमार्फत भइरहेको अवैध व्यापारको संकेत भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ ।भारतीय पक्षका अनुसार उक्त तस्करीमा संलग्न दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने प्रयोग गरिएका दुबै गाडी पनि जफत गरिएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको जनाइएको छ ।घटनाले सर्लाहीका सखुअवा र संग्रामपुर नाकाबाट हुने तस्करीको नेटवर्क भारतसम्म सहज रूपमा सक्रिय रहेको पुष्टि गरेको छ ।
‘सेटिङ’ को आरोप
स्थानीय स्रोतहरूका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत ‘क्राइम टोली’ का नाममा परिचालित केही प्रहरी कर्मचारीहरू नै तस्करी नेटवर्कसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको आरोप छ । विशेषगरी प्रहरी जवान अजय सहनी र प्रहरी हवल्दार धर्मेन्द्र पटेलको नाम यस सन्दर्भमा बारम्बार उठाइएको छ ।
यद्यपि, यी आरोपहरू आधिकारिक रूपमा पुष्टि भने भइसकेका छैनन् । तर, स्थानीय तहमा उठिरहेका गुनासो र भारतमै समातिएको ठूलो परिमाणको सामानले यी आरोपलाई बल पुर्याएको देखिन्छ ।
पश्चिमी नाका ‘हटस्पट’
स्रोतका अनुसार सर्लाहीको पूर्वी क्षेत्रमा केही हदसम्म निगरानी बढाइएको भए पनि पश्चिमी क्षेत्रका नाकाहरू—बहादुरपुर, अर्नाहा, मधुवनी, बलरा लगायत—अहिले पनि तस्करीका प्रमुख ‘हटस्पट’ बनेका छन् ।यी नाकाहरूबाट रातको समयमा मात्र होइन, दिनदहाडै पनि अवैध सामान ओसारपसार हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । “प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतो बिना यस्तो ठूलो परिमाणको सामान पार हुनै सक्दैन,” एक स्थानीयले नाम नबताउने सर्तमा भने ।
किन बढ्यो चिनियाँ सामानको तस्करी ?
विशेषज्ञहरूका अनुसार चिनियाँ लसुन र तरकारीका बियाँमा नेपाल–भारतबीचको मूल्य अन्तर तस्करीको मुख्य कारण हो । भारतमा चिनियाँ लसुनमा कडा प्रतिबन्ध र उच्च भन्सार दर भएकाले व्यापारीहरूले नेपाललाई ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोग गर्ने गरेका छन् ।नेपालमा भन्सार प्रक्रिया अपेक्षाकृत कमजोर हुनु, खुला सीमा, र स्थानीय स्तरमा हुने ‘सेटिङ’ ले यस्तो गतिविधिलाई सहज बनाएको विश्लेषण छ ।स्थानीय प्रशासनले बारम्बार तस्करी नियन्त्रणमा कडाइ गरिएको दाबी गर्दै आएको छ । तर, यथार्थ भने फरक देखिएको छ ।एकातिर नेपाल पक्षले ‘नियन्त्रण कडा बनाइएको’ भन्ने दाबी गरिरहेको छ भने अर्कोतिर भारतमै ठूलो परिमाणमा सामान बरामद हुनु आफैंमा नियन्त्रण प्रणाली कमजोर रहेको प्रमाण भएको विश्लेषकहरूको भनाइ छ ।
यो घटनाले केवल तस्करीको मुद्दा मात्र उठाएको छैन, बरु सुरक्षा संयन्त्रको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ ।कसरी यति ठूलो परिमाणको सामान सीमा पार पुग्यो ? स्थानीय प्रहरीलाई जानकारी थिएन, कि उनीहरू नै संलग्न थिए ? किन बारम्बार एउटै नाकाबाट तस्करी भइरहेको छ ? यी प्रश्नहरूको जवाफ अझै अस्पष्ट छ ।
स्थानीयको आक्रोश
स्थानीय बासिन्दाहरू तस्करीका कारण सामाजिक र आर्थिक असर परेको गुनासो गर्छन् । “साना व्यवसायीलाई कडाइ हुन्छ, तर ठूलो तस्करी खुलेआम चल्छ,” एक व्यापारीले भने । नीहरूका अनुसार तस्करीले स्थानीय बजारमा असमान प्रतिस्पर्धा सिर्जना गरेको छ भने राज्यको राजस्वमा पनि ठूलो नोक्सानी भइरहेको छ ।सर्लाही नाकामा देखिएको यो घटना कुनै ‘एकदिनको अपवाद’ होइन, बरु लामो समयदेखि जरा गाडेको समस्याको सतहमा आएको संकेत हो ।भारतमै ठूलो परिमाणमा तस्करीको सामान समातिनु, प्रहरी संलग्नताको आरोप सार्वजनिक हुनु, र स्थानीय स्तरमा उठिरहेका गुनासाहरू—यी सबैले सर्लाहीमा तस्करी नियन्त्रण प्रणाली असफल भएको स्पष्ट देखाउँछन् ।अब प्रश्न उठ्छ—के यो घटनापछि वास्तविक सुधार हुन्छ ? कि फेरि केही दिनको चर्चा पछि विषय सेलाउने छ ? सरकार, सुरक्षा निकाय र सम्बन्धित निकायले पारदर्शी छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म सर्लाही नाकामा तस्करीको ‘सेटिङ’ अन्त्य हुने सम्भावना कमजोर देखिन्छ ।







