वीरगंज,१० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति तत्काल गठन नगरी वडा तथा पालिका अधिवेशनलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। शनिबार आयोजित विस्तारित बैठकले संगठन पुनर्संरचना र आगामी अधिवेशन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो।
यसअघि रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरिएपछि जिल्ला संगठनभित्र विवाद उत्पन्न भएको थियो। त्यसपछि पार्टीले विवादित जिल्ला समिति भंग गर्दै केन्द्रीय तहबाट नेताहरूलाई बारा पठाएर विस्तारित बैठक आयोजना गरेको थियो।
बैठकमा केन्द्रीय नेताहरूको सहभागितामा संगठन विस्तार, आन्तरिक व्यवस्थापन तथा अधिवेशन तयारीबारे विस्तृत छलफल भएको थियो। छलफलपछि तत्काल जिल्ला तदर्थ समिति गठन नगरी पहिला वडा र पालिका तहको संगठन निर्माणलाई प्राथमिकता दिने निर्णय गरिएको हो।
निर्णयअनुसार पालिका अधिवेशन आगामी जेठ १७ गते सम्पन्न गरिनेछ। त्यसअघि तदर्थ समिति गठन भइसकेका वडाहरूमा जेठ १२ गते अधिवेशन गरिनेछ भने गठन हुन बाँकी रहेका पालिकाहरूमा जेठ १३ गते तदर्थ समिति गठन गर्ने कार्यतालिका तय गरिएको छ।
बैठकले वडा तथा पालिका समिति गठन प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन पाँच जना प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ। ती प्रतिनिधिहरूले स्थानीय तहमा संगठन निर्माण, समन्वय तथा अधिवेशन व्यवस्थापनमा सहजीकरण गर्ने जनाइएको छ।
रास्वपाले संगठन विस्तार तथा आन्तरिक संरचना सुदृढीकरण अभियानअन्तर्गत देशभर वडा र पालिका तहमा अधिवेशन तथा तदर्थ समिति गठनलाई तीव्रता दिँदै आएको छ। बारा जिल्लामा देखिएको विवाद समाधान गर्दै संगठनलाई पुनः सक्रिय र एकताबद्ध बनाउने उद्देश्यले केन्द्रबाट प्रत्यक्ष हस्तक्षेप गरिएको पार्टी स्रोतले जनाएको छ।
पार्टीका नेताहरूले संगठनलाई बलियो बनाउन स्थानीय तहबाटै सक्रियता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आगामी अधिवेशनले संगठनलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्।








