जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बिहान करिब ८:२० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट क्षेत्रमा प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ आवतजावत गर्ने पैदल यात्रु र सवारीसाधनको चेकजाँचका क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका चार जनामाथि शंका लागेपछि खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूले शरीरको पेट तथा छाती भागमा रातो प्लास्टिकमा खैरो डोरीले बेरेर लुकाएर राखेको गाँजाजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय सफी अहमद, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महमद इकबाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले उक्त जानकारी दिएका हुन्।
उनीहरूको साथबाट प्लास्टिक बाहेक करिब ६ केजी १८ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







