वीरगञ्ज, २२ पुस। । वीरगञ्जमा पछिल्ला दिनहरूमा उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले धार्मिक सद्भाव, सामाजिक शान्ति र आपसी सहकार्य सुदृढ गर्ने लक्ष्यसहित पाँच बुँदे लिखित सहमति गरेको छ।
उक्त बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागी सबै पक्षले वीरगञ्जमा शान्ति सुव्यवस्था कायम राख्नु सबैको साझा दायित्व भएको निष्कर्ष निकालेका छन्।

सहमति अनुसार, अन्य मुलुक वा स्थानमा घटेका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्ता विषयमा असन्तुष्टि वा आपत्ति भए पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र पेश गर्ने र त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले भविष्यमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावविरुद्ध हुन सक्ने गतिविधिहरू नियन्त्रण गर्न जिल्लास्तरीय स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय गरेको छ। उक्त संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुब अली (शेरु) र अली असगर मदनी रहनेछन्। आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि, राजनीतिक दलका तर्फबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधिको समेत सहभागिता रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, बैठकले सबै सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार र संवेदनशील पत्रकारिता गर्न अनुरोध गरेको छ। धार्मिक वा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने सहमतिमा उल्लेख गरिएको छ।
बैठकमा सहभागी सबै संस्था र पक्षहरूले निर्णयहरू आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, विज्ञप्ति जारी गर्ने र हालको अवस्थालाई सहज बनाउन थप विरोध कार्यक्रम नगरी सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। बैठकले वीरगञ्जमा दीगो शान्ति, सहअस्तित्व र सद्भाव कायम गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।







