वीरगंज,२१ मंसिर । पर्साको छिपहरमाई गाउँपालिकामा सोलार सिचाई प्रणाली खरिद कार्यमा अनियमितता भएको पाईएको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह र तत्कालीन लेखा प्रमुख सन्जय पटेल सहितकाले जनप्रतिनिधी तथा उपभोक्ता समितिको मिलेमतोमा पौने ८३ लाखको सोलार सिचाई प्रणाली खरिद कार्यमा अनियमितता गरेको पाईएको हो ।
जनप्रतिनिधीको प्रमुख कार्य बजेट तर्जुमा हो भने त्यस बजेटलाई कसरी कार्यन्वयन गर्ने मुख्य जिम्मेवार व्यक्तिको रुपमा त्यस पालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको हुन्छ । यही जिम्मेवारी अन्तर्गत रही आर्थिक कारोबार गर्दा वा कार्य सम्पन्न भईसपछि भुक्तानी गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत कै हुन्छ ।
यसरी हेर्दा भ्रष्टाचार गर्ने वा हुन नदिने मुख्य संयन्त्रकारी निकाय मध्येको एक प्रमुख प्रशासकी अधिकृत नै हुन्छ । तर पर्साको छिपहरमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह लगायतको मिलेमतोमा खुल्ला बोल पत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने कार्यमा उपभोक्ता समितिबाट गराई ८२ लाख ७३ हजार ७६० रुपैयाँ अनियमित तरिकाले खर्च गरेको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले २० लाख रुपैयाँ भन्दा बढी लागत अनुमान भएको माल सामान, निर्माण कार्य वा जुन सुकै सेवा खरिद गर्नुपर्दा खुल्ला बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । तर तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह लगायतकाले छिपहरमाई गाउँपालिकाभरी प्रतिथान ६ लाख ३६ हजार ४४३ रुपैयाँ खरिद देखाई विभिन्न १३ थान सोलारमा ८२ लाख ७३ हजार रुपैयाँ अनियमित खर्च देखाएका छन् ।
उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह र सन्जय पटेलले अवैध आर्थिक लाभ लिएर जानी–जानी उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ हिनामिना गरेको पाईएको छ । गाउँपालिकाले सोलार सिचाई प्रणाली जडान कार्यका लागि उपभोक्ता समितिसंग सम्झौता गरि कार्य गराएकोमा लागत लागत अनुमान तथा सम्झौतामा १० प्रतिशत उपभोक्ताले र ९० प्रतिशतले पालिकाले व्यहोर्ने उल्लेख छ ।
तर श्रेस्ता परिक्षण गर्दा लागत अनुमानमा उल्लेखित कम्पोनेन्ट र जडान सहितको कार्य सप्लायर्सको बिल रकम भन्दा बढी मूल्याङकन गरि जनसहभागिताको अंश कट्टा हुने ९ लाख १९ हजार रुपैयाँ समेत भुक्तानी भएको महालेखा परिक्षक कार्यालयको प्रतिवेदनबाट खुलेको छ । जुन रकम महालेखाले असूल गर्नुपर्ने बेरुजूमा बर्गिकरण गरेको छ ।
ऐन अनुसार सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिका कारण सार्वजनिक सम्पति हिनामिना वा हानी–नोक्सानी पु¥याएको किटाण गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा बर्गिकरण गरिन्छ । यसले समेत तत्कालिन अधिकृत सिकेन्द्र साह लगायतको मिलेमतोमा ९ लाख १९ हजार रुपैयाँ हिनामिना भएको पुष्टि हुन्छ ।
हाल पर्साको बहुदरमाई नगरपालिकामा कार्यरत छिपहरमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहसंग सोलार सिचाई प्रणाली खरिद लगायतका विषयमा बुझ्दा उनले आफू त्यहाँ नरहेकोले त्यस विषय बारे केही नबोल्ने बताए ।







