LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

लन्डन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम सम्पन्न गरेको छ।

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याएको योगदानको चर्चा गरे ।

लन्डनस्थित स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरेर उक्त विश्वविद्यालयको नेपाली एन्ड हिमालयन स्टडिज विभागमा रही नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै केही साहित्यकारका सिर्जनासमेत वाचन गरेका थिए ।
प्रा डा सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्‍याएको विशेष योगदानको चर्चा गरे । नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई (लारा)ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराइन् । त्यस्तै कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को लोकार्पण गरिएको थियो ।

सो अवसरमा आयोजित काव्यगोष्ठीमा बेलायतलगायत युरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गरेका थिए । साथै बेलायतमा रहेका बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहरुङ र सुरेन्द्र इङ्नामले बाँसुरी वादन, कलाकारहरु डम्बरसिंह प्रयास तथा मनोज अञ्जानले सारङ्गी वादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको