वीरगञ्ज,२० माघ। पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियालाई विजयी गराउने उद्देश्यले भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका नेकपा एमाले पर्साका उपाध्यक्ष मनोज गुप्ता चुनावी प्रचार–प्रसारमा सक्रिय देखिएका छन्। निलम्बित अवस्थामा रहेका नेताको खुला सहभागिताले चुनावी मर्यादा र नैतिकतामाथि प्रश्न उठाएको स्थानीयवासीहरूको भनाइ छ।
स्थानीय स्रोतका अनुसार भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका गुप्ता उम्मेदवार मियासँगै विभिन्न स्थानमा प्रचार अभियानमा सहभागी हुँदै आएका छन्। यसले उम्मेदवार जालिम मियाको स्वच्छ छवि र नैतिक आचरणमाथि गम्भीर प्रश्न खडा गरेको स्थानीय मतदाताहरू बताउँछन्। निर्वाचन क्षेत्रका केही मतदाताले निलम्बित व्यक्तिलाई साथमा लिएर गरिएको प्रचारप्रति खुलेर असन्तुष्टि व्यक्त गरेका छन्।
त्यसैगरी, उम्मेदवार जालिम मियामाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपसमेत लागेको छ। स्थानीयहरूको आरोप अनुसार उनले भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गरी चुनावी प्रचार गरेका छन्। उक्त सवारीसाधनको नम्बर प्लेट कालो टेप र कागजले छोपिएको र सनरुफबाट बाहिर निस्केर हात हल्लाउँदै प्रचार गरिएको दृश्य सार्वजनिक भएपछि आलोचना बढेको छ।
नेपाल सरकारले भारतीय नम्बर प्लेट भएका सवारीसाधनलाई निर्वाचन प्रचार–प्रसारमा प्रयोग गर्न स्पष्ट रूपमा प्रतिबन्ध लगाएको छ। तर सो निर्देशनको बेवास्ता गर्दै प्रचार गरिएको भन्दै स्थानीयहरूले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार यस्तो गतिविधिले निष्पक्ष र मर्यादित निर्वाचन प्रक्रियामाथि असर पार्न सक्छ।
स्थानीय नागरिकहरूले यस विषयमा तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार चुनावी आचारसंहिता उल्लंघन र निलम्बित व्यक्तिको सक्रिय राजनीतिक भूमिकाले जनविश्वास कमजोर बनाउने खतरा रहेको छ।







