
पंचगावाँ – पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा क्षेत्रको दुर्दशा यस वर्षको एसईई (SEE) परीक्षाको नतिजाबाट स्पष्ट देखिएको छ। गाउँपालिकाभित्रका चारवटा माध्यमिक विद्यालयबाट सहभागी भएका ४२९ जना विद्यार्थीमध्ये जम्मा ५७ जनाले मात्र एसईई परीक्षा उतीर्ण गरेका छन्। यस कमजोर नतिजाले पालिकाको शिक्षा प्रणाली, त्यसमा भएको लगानी र जिम्मेवार निकायको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ।
गाउँपालिका शिक्षा शाखा प्रमुख नेपालेन्दु साहका अनुसार, श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ११० विद्यार्थीमध्ये केवल ११ जना मात्र पास भएका छन्। श्री ने.रा.मा.वि. देउरवानाबाट ९८ विद्यार्थी सहभागी भए जसमध्ये २३ जना मात्र सफल भएका छन्। श्री ने.रा.मा.वि. महुवनामा १२७ विद्यार्थीमध्ये १३ जना मात्र उतीर्ण भएका छन् भने, श्री ने.रा.मा.वि. सिरयही सथवलमा ९४ जना विद्यार्थीमध्ये १० जनाले मात्र सफलता हासिल गरेका छन्।
गत वर्ष पनि यस्तै कमजोर नतिजा आएको अवस्थामा सुधारको पहल नहुनु र यस वर्ष फेरि पनि स्थिति झन् खराब हुनु पालिकाको शिक्षा प्रति उदासीनता र असक्षमताको उदाहरण बनेको छ। शिक्षा सुधारका नाममा कार्यक्रम र भाषण मात्रै चलाइए पनि वास्तविक सुधारको पहल कतैबाट नभएको जनगुनासो स्थानीयहरूमध्ये व्यापक रूपमा देखिएको छ। शिक्षाको गुणस्तर गिरिरहेको अवस्थामा समेत पालिकाले कुनै जिम्मेवारीपूर्वक योजना अघि नबढाउनुले नेतृत्व तहको गैरजिम्मेवारीपन देखाएको छ।
स्थानीय बासिन्दाहरूले विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको उपस्थितिको स्थिति, पठनपाठनको गुणस्तर, अनुगमन प्रणालीको अभाव र योजनाको कमीलाई यस नतिजाको मूल कारण मानेका छन्। यसले गाउँपालिकामा शिक्षा क्षेत्रको भौतिक संरचना मात्र विस्तार गरेर गुणस्तरीय शिक्षा दिन सकिँदैन भन्ने तथ्य पुनः उजागर गरेको छ।
यदि यस्तै अवस्था कायम रह्यो भने सखुवा प्रसौनी गाउँपालिकाको भावी पुस्ता अन्धकारतर्फ धकेलिने निश्चित देखिन्छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पालिकाले तत्काल गम्भीर ध्यान नदिए भयावह अवस्था आउनेतर्फ संकेत गरिरहेको छ। अब पालिकाले कागजी योजना र ठूला वाचा होइन, व्यवहारमा देखिने सुधारको खाँचो छ।