जेठ, २ वीरगंज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २१, परवानीपुर चोकबाट खैरो हिरोइन जस्तो देखिने लागु औषधसहित एक जना युवक पक्राउ परेका छन्।

२०८२ साल बैशाख ३१ गते, दिउँसो करिब ३ बजे लागु औषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले BR06 CT 0810 नम्बरको FZ मोटरसाइकलमा सवार एक व्यक्तिलाई शंका लागी रोकेर खानतलासी गरेको थियो।
तलासीका क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वा बसोबास गर्ने २२ वर्षीय मुस्तुफा अन्सारीको शर्टको दाहिने खल्तीबाट तीनवटा प्लास्टिकका पुरिया फेला परेका थिए। ती पुरियामा प्लास्टिक बाहेक १५ ग्राम खैरो हिरोइन जस्तो देखिने लागु औषध लुकाइएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले लागु औषधसहित मुस्तुफा अन्सारीलाई नियन्त्रणमा लिई प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ। हाल उनलाई लागु औषध सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई निगरानी र पक्राउ गर्ने कार्य अझ कडा बनाइरहेको बताएको छ।







