महोत्तरी, वैशाख १४ – मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले शनिबार महोत्तरी जिल्लाको समसी गाउँपालिका र सोनमा नगरपालिकाभित्र पर्ने विभिन्न स्थानमा १० वटा विकास निर्माण योजनाको एकैदिन शिलान्यास गरेका छन्।
मन्त्री यादवले समसी गाउँपालिका–३ स्थित बैरगिया देखि बिर्तासम्मको सडक स्तरोन्नति, वडा नम्बर १ मा खखना जोड्ने सडकको ढलान, पिपरिया टोलको सडक स्तरोन्नति, वडा नम्बर ६ मा मर्दसा भवन निर्माण, पासवान धर्मशाला र चौधरी धर्मशालाको निर्माण कार्यको शिलान्यास गरेका हुन्।
यस्तै, सोनमा नगरपालिका–२ मा सामुदायिक अस्पताल भवन निर्माणको पनि शिलान्यास गरिएको छ।
मन्त्री यादवका स्वकीय सचिव रञ्जित सिंहका अनुसार करिब ६ करोड रुपैयाँको लागतमा यी सबै योजनाको निर्माण कार्य सुरु गरिएको हो। सिंहले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
स्थानीय विकासप्रति प्रतिबद्ध रहेको भन्दै मन्त्री यादवले स्थानीय तहमा आधारभूत संरचना बलियो बनाउन यस्ता योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए।