वीरगञ्ज,१३ माघ। पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरीक्षक युवराज कटवाल प्रमुख भएर आएपछि ट्राफिक व्यवस्थापन सुधारिनुको सट्टा अवैध असुली बढेको गम्भीर आरोप लागेको छ। विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीसाधनका चालकहरूलाई लक्षित गरी विभिन्न ट्राफिक पोष्टहरूमा खुलेआम अनधिकृत रकम असुली भइरहेको गुनासो बढ्दै गएको छ।

स्थानीय स्रोत तथा सवारी चालकहरूका अनुसार ड्राइपोर्ट, परवानीपुर, पावरहाउस र गण्डक ट्राफिक पोष्टमा कार्यरत ट्राफिक प्रहरीले ‘ओभरलोड’ को नाममा चालकहरूबाट नियमित रूपमा रकम उठाउने गरेका छन्। ‘भारवहन नियमावली २०७४’ अनुसार क्षमताभन्दा बढी भार बोकेको सवारीसाधनलाई कानुनी रूपमा जरिवाना गरी अतिरिक्त सामान झार्न लगाउनुपर्ने व्यवस्था छ। तर व्यवहारमा ट्राफिक प्रहरीले जरिवाना प्रक्रिया अपनाउने सट्टा घुस लिई सवारीसाधन छाड्ने गरेको आरोप लागेको छ।

गुनासो अनुसार यो अवैध असुली मालवाहक ट्रकमा मात्र सीमित छैन। वीरगञ्ज क्षेत्रभित्र चल्ने रिक्सा चालकदेखि भारतीय नम्बर प्लेट भएका साना–ठूला सवारीसाधनका चालकसम्मबाट रकम असुली हुने गरेको बताइएको छ। चालकहरू भन्छन्, “नियम पालना गरौँ वा नगरौँ, पैसा नदिएसम्म गाडी अघि बढ्न दिइँदैन।”
अझ गम्भीर कुरा के छ भने, स्रोतहरूका अनुसार ट्राफिक पोष्टहरूबाट उठाइने अवैध रकमको हिस्सा जिल्ला ट्राफिक प्रमुखमार्फत प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सम्म पुग्ने गरेको छ। यही कारण माथिल्लो तहबाट समेत कुनै प्रभावकारी अनुगमन वा कारबाही नहुने गरेको आरोप लागिरहेको छ।
यसरी संगठित रूपमा अवैध असुली भइरहेको आरोपले ट्राफिक प्रहरीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। सवारी चालक तथा व्यवसायीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। यदि समयमै नियन्त्रण नभए ट्राफिक व्यवस्थापनभन्दा असुली नै ट्राफिक प्रहरीको मुख्य काम बन्ने खतरा रहेको सरोकारवालाहरूको भनाइ छ।







