माघ, १३ वीरगंज । भारतसंग सीमा जोडिएको पर्साको ग्रामिण नाकाहरुबाट तस्करी धन्दा फस्टाएको पाईएको छ । नेपाल सरकारले सीमानाका लगायत ठाउँ–ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरे पनि यी प्रहरी संगठनका प्रमुखहरुकै मिलेमतोमा तस्करी धन्दा फस्टाएको पाईएको हो ।
पर्साको ग्रामिण नाका अमरपट्टीबाट वीरगंजका नामुद तस्कर तारकेश्वर वर्णवालको समूहले भारतमा उत्पादित रजनिगन्धा लगायतका नसालु पदार्थको तस्करी गरिरहेका छन् भने सोही नाकाबाट नरेश बैठाको समूहले दैनिक उपभोग्य चामल, दाल, तेल, चिनी, लगायतका किराना सामग्रीहरुको तस्करी गरिरहेका छन् । यी तस्कर समूहले १०-१२ वटा मोटरसाईकलमा दैनिक ठुलो मात्रामा रजनिगन्धा लगायतका विभिन्न किराना सामग्रीहरुको अवैध आयात गर्दै आएको स्थानीयले समेत बताएका छन् ।
वीरगंज घर बताउने तारकेश्वरको समूहले तस्करी गर्ने भारतमा उत्पादित रजनिगन्धा लगायतका सामग्री अमरपट्टी नाकाबाट बहुअर्वाभाठ्ठा, बिश्रामपुर, पदमौल गम्हरिया, डोकैला बहुअरी हुँदै परवानीपुरमा भण्डार गरि त्यहाँबातट बिक्रि वितरण गर्दै आएका छन् ।
यस्तै, पर्साको बहुअर्वाभाठ्ठा घर भएका नरेश बैठा र गम्हरिया घर भएका मदन साह तुरहाको समूहले तस्करी गर्ने जिराधनीया, तेल, चिनी लगायतका किसराना सामग्री सोही नाकाबाट सोही बाटो हुँदै डोकैला बहुअरीमा भण्डारण गर्ने छन् । र त्यहाँबाट पछि पिकअपमा लोड गरि सो सामान बाहिर पठाउँदै आएको बताईन्छ ।
यी तस्कर समूहहरुले मोटरसाईकलबाटै मासिक करोडौंको अवैध आयात गर्ने गरेको व्यापारी तथा प्रहरी स्रोतले जनाएको छ ।
भारतको सिमासंग जोडिएको पर्साको अमरपट्टी नाकाबाट तस्करी गर्न तारकेश्वर वर्णवाल, नरेश बैठा र मदन तुरहा लगायतका तस्करहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल पर्साले लाईन दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिप राज पाठकले आफू व्यवस्त भएको बताउँदै केही बोलन चाहेनन् ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आफू त्यस बारे बुझ्ने प्रतिक्रिया दिए । समाचार पुनः सम्पादन गरिएको छ ।- सम्पादक







