वीरगञ्ज,२७ चैत । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीमा विद्यालयको बाउन्ड्रीभित्रबाट बाटो निकाल्ने विषयमा विवाद हुँदा झडप भई पाँच जना घाइते भएका छन्। घटनामा दुई पुरुष र तीन महिला घाइते भएका हुन्।
स्थानीयका अनुसार छिपहरमाई–२ निवासी बलिस्टर साह कानुको खेतसँग जोडिएको श्री ने.रा.प्रा.वि. टिहुकीको पूर्वतर्फको खेतबाट विद्यालयको बाउन्ड्रीभित्रै बाटो निकाल्न खोज्दा विवाद सुरु भएको हो। विद्यालयको जग्गाभित्रबाट किन बाटो निकाल्न खोजिएको हो भन्ने विषयमा स्थानीय बासिन्दाले प्रश्न उठाएपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ।
विवादका क्रममा बलिस्टर साह कानु र उनका नातामा भिनाजु पर्ने विद्यालयका प्रधानाध्यापक सतरोहन साह कानुसहित संजय साह, रोविन साह, इस्राइल देवान, मोतीलाल यादव, अशोक महतो, मुक्ति साह र सिताराम साह कानुलगायत बलिस्टर साह कानुका आफन्तहरू तथा स्थानीयबीच भनाभन भएको थियो। सोही क्रममा विवाद चर्किँदै गएपछि कुटाकुटको अवस्था सिर्जना भएको स्थानीयहरूले बताएका छन्।
झडपमा बडकी टिहुकीका जुवेद आलम, दिपी यादव तथा महिलातर्फ खुशबु खातुन, बुचि खातुन र जमिला खातुन घाइते भएका छन्। घाइतेमध्ये जुवेद आलम र दिपी यादवको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ भने जमिला खातुन चार महिनाकी गर्भवती रहेको जनाइएको छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगंजकै स्पर्श मल्टिस्पेसियलिटी अस्पतालमा उपचार भइरहेको छ।







