
वीरगन्ज, वैशाख २ – वीरगन्जको रेल्वेरोडस्थित पञ्चमुखी हनुमान मन्दिरमा मंगलबार २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न गरिएको छ। हिन्दु स्वयंसेवक संघ नेपाल तथा वीरगन्ज कुम्हालटोलका युवाहरुको संयोजनमा उक्त धार्मिक कार्यक्रम नियमित रूपमा आयोजना हुँदै आएको छ।
सनातन हिन्दु धर्मप्रति गहिरो आस्था राख्ने वीरगन्जका युवा तथा श्रद्धालु भक्तजनले विगत २१ हप्तादेखि प्रत्येक मंगलबार मन्दिरमा बिहान ८ बजे सामूहिक हनुमान चालीसा पाठ गर्दै आएका छन्। पाठपछि सहभागीहरूलाई प्रसाद वितरण गरिन्छ।
कार्यक्रमका संयोजक अमर सरार्फका अनुसार गत मंसिर ११ गतेदेखि निरन्तर रूपमा हरेक मंगलबार यो धार्मिक गतिविधि सञ्चालन हुँदै आएको हो। “सनातन धर्मको संरक्षण र हिन्दु एकताको सन्देश फैलाउन सामूहिक हनुमान चालीसा पाठको आयोजना गरिएको हो,” उनले बताए।
यस किसिमका नियमित धार्मिक कार्यक्रमले युवामा धार्मिक चेतना र संस्कार अभिवृद्धि हुनुका साथै समुदायमा आपसी एकता र सद्भाव बढाउने अपेक्षा आयोजकहरुले व्यक्त गरेका छन्।