
मधेस ( तराई ) – पर्सा जिल्ला अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका–३ का ४० वर्षीय किसान किसमोहन राउतको बिहान सूर्य उदाउँदै गर्दा सुरु हुन्छ र बेलुकी रातको अन्धकारसम्म खेतमै बित्छ। उनका हातमा कोदालो, हाँथमा माटो र निधारमा पसिना लतपतिएको हुन्छ। तर यो पसिनाको मोल कतै हराइरहेको छ। यतिबेला उनी गहुँ काट्न व्यस्त छन्—तर मात्र गहुँ होइन, आफ्नो जीवनका चिरपरिचित समस्यासँग पनि उनी हरेक दिन जुधिरहेका छन्।
किसमोहन राउत सधैंका लागि किसान हुन्। उनका दुई बिघा जमिन छन्। यी जमिनहरू उनका लागि केवल अन्न फलाउने माध्यम मात्र होइन, जीवनको आशा र भरोसा पनि हुन्। उनले धेरै चोटि भनेका छन्, “हाम्रो मिहिनेत कहिले सत्ताले देख्दैन। नेताहरू चुनावमा आउँदा ‘कृषक देशका मेरुदण्ड हुन्’ भन्छन्। तर चुनाव जितेपछि हाम्रो दुख, हाम्रा खेत, हाम्रो पसिनाले तिनलाई फरक पार्दैन।”
यसपालिको गहुँ बाली राम्रो भएको छ। उस्तै मौसमी अवस्था, सन्तुलित तापक्रम र परेका पानीका कारण उत्पादन राम्रो देखिएको छ। किसमोहनले भनें, “यो वर्ष बाली हेर्दा मन लोभिन्छ। अन्नका बोटहरू ठूला, दाना भरिएका छन्। तर हामी हर्ष गर्न सक्दैनौं। कारण, मल पाइएन। पानी समयमै आएन। र बीउ, त्यो त झन् सरकारले दिएको सुनेको हो तर हामीले देखेकै छैनौं।”
मलको संकट : कृषि नीतिमा असमानता
किसमोहनको मुख्य गुनासो मल हो। नेपालको कृषि प्रणालीमा मल एक अत्यावश्यक तत्व हो। तर प्रत्येक वर्ष मलको हाहाकार हुन्छ। भारतसँग खुला सीमा भएको तराई क्षेत्र, विशेषतः पर्सा जस्तो जिल्लामा किसानहरू मल भारतबाट ल्याउने गर्दथे। तर अहिले त्यहाँ पनि समस्या छ। किसमोहन भन्छन्, “भारतबाट मल ल्यायो भने नेपाल प्रहरीले खोस्छ। नल्याउँदा बाली मरिन्छ। अब हामीलाई के गर्नु?”
सरकारको अनुदानमा आउने मल पर्याप्त हुँदैन। अझ आउँदा आउँदै ढिला हुन्छ। “हामी बीउ छर्दा मल हुँदैन। मल आउँदा बोट पहिल्यै बढिसक्छ। यस्तो अवस्थामा मल हालेर पनि के फाइदा?” – किसमोहनले गुनासो गरे। उनका अनुसार मलको अभावकै कारण धेरै बालीमा आशा गरेजस्तो उत्पादन हुँदैन।
सिंचाइको समस्या : पानी भए पो बाली फस्टाउँछ
तराई क्षेत्रमा सिँचाइको मुख्य स्रोत नहर र इनारहरू हुन्। तर अधिकांश सिँचाइ परियोजना राजनीतिक हस्तक्षेपको कारण अलपत्र छन्। “हाम्रो गाउँमा एउटा नहर छ, तर वर्षौंदेखि मर्मत भएको छैन। वर्षा भएपछि मात्रै खेतमा पानी आउँछ। सिँचाइ नहुँदा बाली सुख्खा हुन्छ। त्यही भएर त हामी पानीको पर्खाइमा बाली गुमाइरहेका छौं,” – किसमोहनले दुख व्यक्त गरे।
उनले बताए अनुसार, प्रायः किसानहरूले डीजल पम्पसेट प्रयोग गर्छन्, तर डीजलको मूल्य आकाशिएकोले त्यो पनि सम्भव हुँदैन। “पम्प सेट चलाउन महँगो पर्छ। एकदिन पानी हाल्न हजारौं लाग्छ। त्यो खर्च हामीजस्ता साना किसानले कसरी बेहाेल्न सक्छौं?”
सरकारी अनुदान : नाम मात्रको सहायता
सरकारले बीउ, मल, औजार र सिँचाइ सामग्रीमा अनुदान दिने घोषणा गरेको हुन्छ। तर किसमोहनको अनुभव भन्छ, “अनुदान पाइन्छ रे। तर कहिले पाइन्छ? कति पाइन्छ? हामीले त केवल सुनेकै हो।”
उनका अनुसार सहरका नजिकका किसान, पहुँच भएका मान्छेहरूले चाहिँ अनुदान लिन्छन्। गाउँका गरीब किसानहरू चाहिँ ‘सूचीमा नाम छैन’ भन्दै फर्काइन्छ। बीउ दिँदा बर्खा सिजन सकिएको हुन्छ, मल दिँदा रोपाइँ सकिएको हुन्छ। अनुदान सही समयमा नआउँदा किसानको फाइदा हुने साटो घाटा बढ्छ।
राजनीति र कृषि : बेवास्ताको सिलसिला
किसमोहनको सबैभन्दा ठूलो पीडा यही हो– सरकारको बेवास्ता। “हामीलाई नेताले चुनावमा मात्रै सम्झिन्छ। त्यतिबेला ‘कृषिमा आधुनिकीकरण गर्छु, अनुदान बढाउँछु’ भन्छन्। तर त्यसपछि फेरि पाँच वर्ष बेपत्ता हुन्छन्। यहाँ त कृषि बजेट पनि सहर केन्द्रित हुन्छ, तराई र सुदूरका किसानलाई पर्खिने र सहने बाहेक उपाय छैन।”
उनले उल्लेख गरे कि कृषि मन्त्रालयको कार्यक्रमहरू कागजमा मात्र लागू हुन्छन्। कहिलेकाहीँ गाउँपालिकाले तालिमका कार्यक्रम गर्छ, तर ती तालिम किसानभन्दा कर्मचारीका लागि देखिन्छन्। “हामीले त सोंच्नै छाड्यौं सरकारले केही गर्छ भनेर,” किसमोहन भन्छन्, “अब त आफैं जति सकिन्छ त्यति गर्नु हो। बाँकी भगवान भरोसा।”
कोरोना महामारीपछि थपिएको संकट
कोरोना महामारीले झनै समस्या थपिदिएको छ। धेरै किसानको उत्पादन बजारसम्म पुगेन। किसमोहन सम्झिन्छन्, “कोरोनाको समयमा हामीले प्याज, आलु, गहुँ सबै गाउँमै सडायौं। बजार जान मिल्दैनथ्यो, व्यापारी आउँदैनथे। घाटा झेल्नै पर्यो। अहिले पनि त्यो प्रभाव छ। बजार मूल्य घटेको छ, तर मलको मूल्य त झनै बढेको छ।”
अभाव र अभिलाषा बीचको संघर्ष
किसमोहन राउतको कथा केवल एउटै किसानको कथा होइन। यो तराईका हजारौं किसानहरूको साझा व्यथा हो। बीउ, मल, पानी, बजार—सबै तिर अभाव छ। तर त्यो अभावबीच पनि किसानले खेती छाडेका छैनन्। किनभने खेती उनीहरूको जीवनशैली हो, संस्कार हो, र अस्तित्वको आधार हो।
“हामी खेतमा पसिना बगाउँछौं, देशको अन्न उत्पादन गर्छौं। तर कहिल्यै कदर पाइएन। किसानले मर्ने बेलासम्म ऋण तिर्दै जान्छ। बैंकले ऋण दिन मान्दैन, मल पसलमा पैसा माग्छ, सरकार मौन छ। अब हामी के गरौं?” किसमोहनको स्वरमा थकाइ, गुनासो र अभाव मिसिएको हुन्छ।
अन्त्यमा – आशाको ज्योति देखाउने पहल आवश्यक
कृषिमा आत्मनिर्भरता भन्नेमात्र हो कि साँच्चिकै बन्ने हो? सखुवा प्रसौनीका किसमोहन राउत जस्ता किसानहरूको जीवन हेर्दा लाग्छ—नेपालमा कृषि अझै उपेक्षित छ। जबसम्म मल, बीउ, पानी, बजार, मूल्य स्थायीत्व र सरकारी सहयोगको अभाव रहनेछ, तबसम्म नेपाली किसान कहिल्यै समृद्ध हुँदैन।
अब समय आएको छ—नीति निर्माणकर्ता, सांसद, मन्त्री र सम्बद्ध निकायहरूले किसमोहनको जस्तो कथा सुन्नुहोस्, बुझ्नुहोस् र सुधारको कदम चाल्नुहोस्। किनभने किसान मरे भने मुलुक बाच्दैन। खेत बाँझियो भने अन्न हुन्न। र, त्यही बेला देशले भोक सहनु पर्छ।