LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

नवल यादव ।। पर्सा ।। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गम्भीर अनियमितता भएको भन्दै विभिन्न १० विद्यार्थी सङ्गठन र समूहहरूले निर्वाचन खारेज गरी १५ दिनभित्र पुनर्निर्वाचनको माग गरेका छन्। चैत ५ गते सम्पन्न मतदान तथा मतगणना प्रक्रियामा देखिएका त्रुटिहरू र विवादका कारण निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको छ। निर्वाचनका क्रममा मतपेटिका साटिएको आशङ्का गर्दै विद्यार्थी नेताहरूले कडा आपत्ति जनाएका छन् भने फर्जी मत प्रयोग, ढिलो मतदान प्रक्रिया, सञ्चारकर्मीलाई निष्कासन गर्ने जस्ता घटनाहरूले चुनावलाई नै विवादास्पद बनाएको उनीहरूको आरोप छ।

मतगणना सुरु गर्ने क्रममा ७ नम्बर मतपेटिकाको सिल नम्बर उम्मेदवारका प्रतिनिधिसँग भएको नम्बरसँग नमिलेपछि विवाद चर्किएको थियो। विद्यार्थी नेताहरूले यो घटनालाई मतपेटिका साटिएको ठोस प्रमाणका रूपमा व्याख्या गरेका छन्। त्यस्तै, बिहान ८ बजे सुरु हुनुपर्ने मतदान प्रक्रिया ११ बजेसम्म ढिलाइ हुँदा धेरै विद्यार्थी मतदानबाट वञ्चित भएको गुनासो आएको छ। मतदाताहरूलाई भोट हाल्न रोकिएको, फर्जी मतदाता परिचयपत्र प्रयोग गरी मतदान गराइएको र मतगणनामा समेत फर्जी मतपत्र भेटिएको आरोप सङ्गठनहरूले लगाएका छन्।

( Advertisement )

मतगणना स्थलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिनु र प्रहरीद्वारा जबरजस्ती बाहिर निकालिनुले घटनालाई थप शङ्कास्पद बनाएको सङ्गठनहरूको भनाइ छ। समाजवादी विद्यार्थी युनियनका हरेन्द्र साह, मनोज साह, र सुधीर पटेलले क्याम्पस प्रशासन र निर्वाचन समितिले सत्ताधारी समूहलाई जिताउन मतपेटिका परिवर्तन गरेको आरोप लगाएका छन्। उनीहरूले हाल सम्पन्न निर्वाचन कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै तत्काल पुनर्निर्वाचनको माग गरेका छन्।

विभिन्न विद्यार्थी सङ्गठनहरूले हालको निर्वाचन खारेज गरी १५ दिनभित्र पुनर्निर्वाचन गर्नुपर्ने, फर्जी मतको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने, मतदातालाई दबाब दिने कर्मचारी र निर्वाचन प्रक्रियामा संलग्न क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृतलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने र भविष्यमा निर्वाचन प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्न सशक्त व्यवस्था लागू गरिनुपर्ने माग राखेका छन्।

विवादकै कारण हालसम्म मतगणना स्थगित गरिएको छ। प्रारम्भिक मतगणनाअनुसार सभापति पदमा नेपाल विद्यार्थी समूहका राजकुमार यादव ४२० मतसहित अगाडि छन् भने नेविसंघका विकास मण्डल धानुक २६१ मतसहित दोस्रो स्थानमा छन्। कूल १०,७२९ मतदाता रहेकोमा ४,२९९ मत खसेको निर्वाचन समितिले जनाएको छ। तर अनियमितताको आरोपले चुनावी नतिजा मन्थनमा परेको छ।

क्याम्पस प्रशासन र निर्वाचन अधिकृत दिलीप सिंहले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। निर्वाचन अधिकृत सम्पर्कमा नआएको भन्दै विद्यार्थी नेताहरू आक्रोशित बनेका छन्। यदि मागहरू पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै सङ्गठनहरूले आन्दोलनको रणनीति बनाउन छलफल अघि बढाएका छन्। २०६५ पछि रिक्त रहेको ठाकुरराम क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि १६ वर्षपछि भएको निर्वाचन नै विवादित बनेपछि क्याम्पसको शैक्षिक वातावरण प्रभावित भएको छ। अब विद्यार्थी सङ्गठनहरूले पुनर्निर्वाचनको मागलाई प्रमुख एजेन्डा बनाएर दबाबमूलक रणनीति अगाडि बढाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको