
पर्सा – वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको माहोल तातेको छ। विद्यार्थी नेताहरू चुनावी रणनीति बनाउने, पोस्टर टाँस्ने, नाराबाजी गर्ने, आफ्नो संगठन बलियो बनाउने खेलमा व्यस्त छन्। तर, यो राजनीतिक सरगर्मीबीच वीरगंज शहर भने चुनावी फोहोरको चपेटामा परेको छ।
क्याम्पस परिसर मात्र होइन, वीरगंजका गल्ली, पर्खाल, सार्वजनिक स्थान, र मुख्य सडकहरू चुनावी प्रचारका पोस्टर, ब्यानर, पर्चा र स्टिकरले भरिएका छन्। एकातिर विद्यार्थी नेताहरू नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन्, अर्कोतिर यिनै नेताहरूले आफ्नो समाजप्रतिको जिम्मेवारी बिर्सेर शहरलाई फोहोरको डंगुरमा परिणत गरिरहेका छन्।
स्थानीयबासीले चुनावी गतिविधिको नाममा शहरलाई फोहोर बनाइएको भन्दै असन्तोष व्यक्त गरिरहेका छन्। उनीहरूको भनाइ छ— “राजनीति गर्ने तरिकाले शहरलाई नै असर पार्छ भने यस्तो चुनाव किन?” सरसफाइमा वेवास्ता गर्दै विद्यार्थी संगठनहरू केवल प्रचारबाजीमै सीमित भएको आरोप स्थानीयहरूले लगाएका छन्।
अब प्रश्न उठ्छ— वीरगंज महानगरपालिका यसमा हस्तक्षेप गर्छ कि गर्छैन? फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी चुनाव लड्नेहरूको मात्र होइन, प्रशासनको पनि हो। तर अहिलेसम्म कुनै ठोस कदम नचालिनु प्रशासनको अकर्मण्यता हो कि मिलेमतो?
स्ववियु चुनावका नाममा नियम उल्लङ्घन गर्ने, सार्वजनिक सम्पत्ति बिगार्ने, फोहोर फैलाउने विद्यार्थी नेताहरूलाई कारबाही हुन्छ कि पर्दैन? कि यिनीहरूलाई राजनीतिक पहुँचका कारण उन्मुक्ति दिइन्छ? वीरगंजका जनताले अब जवाफ खोज्नुपर्छ— “चुनावले नेता जन्माउँछ कि शहरलाई फोहोरको थुप्रो बनाउँछ?”