
प्रहरी प्रधान कार्यालयले शुक्रबार १७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सरुवामा ६ जिल्लाका एसपी परिवर्तन भएका छन्। यसक्रममा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुमोध ढुंगेलको पनि सरुवा भएको छ।
विगत ११ महिनादेखि पर्सामा कार्यरत ढुंगेललाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा, नक्शाल, काठमाडौंमा सरुवा गरेको छ। उनी २०८० साल फाल्गुन २ गते पर्सा आइपुगेका थिए।
अब पर्सामा ढुंगेलको स्थानमा एसपी गौतम मिश्र आउने भएका छन्। हाल प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा कार्यरत मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको हो। मिश्र यसअघि जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षकका रूपमा कार्यरत थिए।
चितवनमा भने राजन लिम्बु सरुवा भएका छन्। उनी दुई महिनाअघि मात्र चितवन पुगेका थिए। बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी, र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको यो सरुवा सूचीले विभिन्न जिल्लामा प्रहरी नेतृत्वमा परिवर्तन ल्याएको छ।