
वीरगंज – सात महिनासम्म तलब नपाएपछि पर्साको बहुदरमाई नगरपालिकाका शिक्षकहरूले विद्यालय बन्द गरेर प्रमुख जिल्ला अधिकारीलाई विद्यालयको साँचो बुझाएका छन्। चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो हस्तान्तरण गरेका हुन्।
शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका बहुदरमाईका २० सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी लगायतले साँचो हस्तान्तरण गरेका हुन्। उनीहरूले “२०८१ श्रावणदेखिको हाम्रो तलब खोई?”, “शिक्षक एकता जिन्दावाद”, “हाम्रो माग पूरा गर” जस्ता नाराले लेखिएका प्लेकार्ड बोकेका थिए।
शिक्षक महासंघ पर्साका अध्यक्ष यादवले सात महिनासम्म तलब नपाएपछि बाध्य भएर साँचो बुझाउनुपरेको बताए। उनले भने, “हामी बालबालिकाप्रति अत्यन्तै संवेदनशील छौं। विद्यालयको पढाइ रोक्न कहिल्यै चाहँदैनौं। तर विगत सात महिनादेखि तलब नपाएपछि यस्तो कदम चाल्न बाध्य भएका हौं।”
विद्यालयमा पठनपाठनका लागि तलबबाहेक परीक्षा सञ्चालन र अन्य कार्यका लागि आवश्यक पर्ने रकम पनि निकासा नभएको यादवले बताए। नेपाल सरकारले अनिवार्य गरेको दिवा खाजाबाट समेत बहुदरमाई नगरपालिकाका बालबालिका बञ्चित भएका छन्।
यसबाहेक, दशैँ, तिहार, छठ, माघे संक्रान्ति जस्ता पर्वमा पनि तलब नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यालयका साँचो ग्रहण गर्दै यस्तो अवस्था अत्यन्त दुखद भएको बताएका छन्। पटक–पटक पहल गर्दा पनि नतिजा नआउँदा अहिलेको अवस्था सिर्जना भएको अर्यालले जनाएका छन्।
अर्यालले तलब निकासाका लागि निरन्तर प्रयास जारी राखेको जानकारी दिए। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र उनका स्वकीय सचिवको ध्यानाकर्षण गराउँदा समेत समाधान हुन नसक्नु दुखद पक्ष भएको उनको भनाइ छ।